Sunday, January 15, 2012

माओवादी नफुटने

काठमाडौं, माघ १ ( माओवादी केन्द्रीय समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ उपाध्यक्ष मोहन वैद्यका प्रस्ताव तल्लो तहसम्म छलफलमा लैजाने निर्णय गरेको छ । आइतबार साँझ सकिएको बैठकले दुवै प्रस्तावलाई थाति राख्दै तल्लो तहसम्म छलफलमा लैजाने निर्णय गरेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए । छलफल गर्ने स्वतन्त्रता प्रजातान्त्रिकरुपले जनवादी तरिकाले जारी राख्ने, उनले सञ्चारकर्मीसित भने, पार्टीलाई अनुशासित पनि बनाउने तर कार्यक्रममा भने एकताबद्ध भएर जाने निर्णय भएको छ । माओवादीले शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याउन पहल गर्नेसमेत निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिए । अहिलेको कार्यक्रम भनेको शान्ति र संविधान हो, उनले भने, त्यसको स्पिरिटका साथ पार्टी एकताबद्ध भएर अघि बढ्नेछ ।
केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालको शान्ति र संविधानको कार्यदिशासहितको प्रतिवेदनविरुद्ध वैद्यले जनविद्रोहको प्रस्तावसहितको प्रस्ताव पेश गरेका थिए । दुवै पक्षका नेताहरुलाई मिल्न दबाब दिएपछि दुइटै प्रतिवेदन थाति राखिएको हो ।
बैठकपछि उपाध्यक्ष वैद्यले पनि जनताको संघीय गणतन्त्र संस्थागत गर्दै जनसंविधान निर्माणका लागि पार्टी एक भएको बताए । यसअघि आइतबार रोल्पामा महोत्सव उद्‌घाटन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी नफुट्ने बताउँदै दुवै पक्ष एक भएको बताएका थिए । हिजो रातिमात्र दुवै प्रतिवेदनलाई एक बनाउने सहमति हामीबीच भएको छ,उनले भने,यो ताजा जानकारीले तपाईंहरुलाई हर्षित तुल्याउँछ भन्ने लागेको छ ।

No comments: