Wednesday, March 14, 2012

लडाकुहरुको राष्ट्रिय भेला दाङको लमहीमा


माओवादीका अवकाश प्राप्त लडाकुहरुको राष्ट्रिय भेला दाङको लमहीमा भइरहेको छ । भेलाको उद्‍घाटन एकीकृत माओवादीका केन्द्रीय महासचिव रामबहादुर थापा बादलले गरेका छन् । लडाकुहरूलाई फेरि केन्द्रीकृत गर्न भेला आयोजना गरिएको थापाले बताए । उनले आत्मसमर्पण नगरी अवकाश रोज्ने लडाकुलाई धन्यवाद दिँदै नयाँ संघर्षका लागि तयार हुन अनुरोध गरे । क्रान्ति अझै नसकिएको र जनताको चाहना पूरा नभएकाले लडाकुलाई एकीकृत गरेको उनले बताए ।
भेलामा देशभरका सातवटै डिभिजनका प्लाटुन सहकमाण्डरभन्दा माथिका लडाकु सहभागी छन् । अवकाश रोजेपछि पार्टीले कुनै भूमिका नदिएर बेवास्ता गरेकाले भेला गरेको पाँचौं डिभिजन सहकमाण्डर रामलाल रोकाले बताए ।
भेलाले लडाकुहरुको भूमिकाबारे नयाँ योजना तयार पार्ने भएको छ । ुजनमुक्ति सेनाु को औचित्य समाप्त नभएको पुष्टि गर्न भेला आयोजना गरी एकजुट हुन थालेको रोकाले बताए ।

भेलामा उपाध्यक्ष मोहन वैद्य पक्षका नेता मात्र सहभागी भएका छन् । भेलामा स्थायी कमिटी सदस्य नेत्रविक्रम चन्द विप्लव, थारुवान राज्य समिति ईञ्चार्ज हरिभक्त कँडेल लगाएतका नेता छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बाबुराम भट्टराई लगायतका नेतालाई निमन्त्रणा गरे पनि उपस्थित नभएको लडाकुले गुनासो गरे । भेलामा बुधबार दिनभर छलफल गरी बेलुकासम्म नयाँ योजना सार्वजनिक गर्ने डिभिजन सहकमाण्डर उदयबहादुर चलाउनेले बताए छ । भेलामा ३ सय बढी लडाकु सहभागी छन् ।

No comments: