Monday, November 26, 2012

१४ पछि २१ गते आउँछ-प्रचण्ड


माओवादी अध्यक्ष प्रचण्डले सहमतीय सरकारको प्रधानमन्त्रीका लागि सम्भावित चार जनाको नाम अघि सार्नुभएको छ । प्रचण्डका नजरमा अबका सम्भावित प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, विजयकुमार गच्छदार र महन्थ ठाकुर हुन् । कांग्रेसका हकमा भने प्रचण्डले शर्तसमेत अघि सार्नुभएको छ ।
आफ्नै निवास लाजिम्पाटमा सोमबार साँझ सीमित सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्रीको पहिलो बिकल्पमा बाबुराम भट्टराईकै नाम अघि सार्नुभयो । ‘पहिलो बिकल्प बाबुरामजीकै नेतृत्वमा राष्ट्रिय सहमतिका सरकार बनाउने हो, त्यसो हुन नसके माओवादीभित्रैबाट बन्ने अवस्थामा प्रकाश (नारायणकाजी) जीको नेतृत्वमा जान सकिन्छ ।’
प्रचण्डले भन्नुभयो-’गठवन्धनभित्रबाट जानु पर्ने भएमा मोर्चाका संयोजकसमेत रहनुभएकाले बिजयकुमार गच्छदारजीको नाम आउन सक्छ । उहाँको विकल्पमा महन्थ ठाकुरजी पनि हुन सक्नुहुन्छ ।’
कांग्रेसलाई पूर्वशर्त
पाँचबुँदे सहमतिअनुसार नेपाली काँग्रेसलाई नेतृत्व दिने भनिएको भए पनि त्यसका लागि काँग्रेसले संबिधानका अन्तरवस्तुको प्रष्ट खाका ल्याउनुपर्ने प्रचण्डले शर्त राख्नुभएको छ । ‘उहाँहरुलाई नेतृत्व दिने पहिल्यै भनिएको हो, कांग्रेसको नेतृत्वबारे हामी नकरात्मक छैनौं तर संबिधान पनि बन्दैन, सरकार पनि देउ भन्नुचाँहि माओवादीमाथि अन्याय हुन्न ।’-प्रचण्डको भनाइ थियो ।

राष्ट्रपतिको वक्तव्य अनपेक्षित, तर मुठभेडमा नजाने
राष्ट्रपतिले वक्तब्य निकाल्नुअघि आफूसित टेलिफोनमा कुराकानी भएको जानकारी दिँदै प्रचण्डले आफुसँगको समझदारीभन्दा भिन्नै तरिकाले अनपेक्षित रुपमा वक्तब्य आएको बताउनुभयो । ‘लिखित आउँछ भनिए पनि अलि राजनीतिक किसिमको आउला भन्ने थियो, संविधानको धारा नै तोकेर आयो । यो संबिधानको मर्म र भावना बिपरीत भयो ।’-उहाँले सञ्चारकर्मीहरुसित भन्नुभयो । एमाओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिसित थप मुढभेडमा जानुभन्दा सहमतिबाट अघि बढ्नुपर्ने बताउनुभयो ।
नायँ प्रधानमन्त्रीको नाम सिफारिस गर्न राष्ट्रपतिले दिएको समयसीमा सकियो भने मंसिर १४ पछि के हुन्छ ? भन्ने संचारकर्मीको जिज्ञासामा प्रचण्डले हाँस्दै भन्नुभयो- ‘२१ गते आउँछ ।’

No comments: