Thursday, May 9, 2013

क्रिकेटको भव्य सम्मान,मूलपानीको मैदान छिट्टै बन्ने


आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन(३ जितेर फर्केको नेपाली टिमका कप्तान पारस खड्काले बुधबारको भव्य सम्मानपछि क्रिकेटले देशलाई राष्ट्रिय एकतामा बाँध्ने बताउँदै सरकारलाई प्रशासनिक पक्षबाट सहयोग गर्न आग्रह गरेका छन् । यहाँसम्मको यात्रामा खेलाडीले धेरै मिहिनेत गरेका छन्, पारसले भने, अब नेपाली क्रिकेटलाई थप उचाइमा पुर्‍याउन सरकार र प्रशासन पक्षको पालो आएको छ । सम्मानपछि पारसले जीवनकै सबैभन्दा खुसीको दिन रहेको बताए ।
बिहान ९ बजे नेपाल ओर्लिएका खेलाडीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी, करिब दुई सय समर्थक, राष्ट्रिय टिमका दुई प्रायोजक पेप्सी र स्टान्डर्ड चार्टर्ड बैंकका पदाधिकारीले स्वागत गरेका थिए । करिब एक घन्टाको अलमलपछि साढे १० मा एयरपोर्टबाट टोली फूलको मालाले सजाइएको मिनिट्रकमा नगरपरिक्रमका लागि निस्किएको थियो । टिम गौशाला, रातोपुल, मैतीदेवी, डिल्लीबजार, पुतलीसडक, सहिदगेट हुँदै त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेप पुगेर ३ घन्टा लामो परिक्रमा सकिएको थियो । परिक्रमाका दौरान दर्शकले खेलाडीलाई राम्रो साथ दिए ।
३० घन्टाको निन्द्रालाई थाँति राख्दै खेलाडी दर्शकको अपेक्षाअनुसार अटोग्राफ दिनमा व्यस्त रहे । कसैले हात, कसैले पैसाको नोट र कसैले कागजमा अटोग्राफ लिए । युवा तथा खेलकुद मन्त्रालय र राखेपले संयुक्त गरेको सम्मान कार्यक्रम करिब एक घन्टा चलेको थियो । खेलकुद मन्त्री रामकुमार श्रेष्ठले मूलपानीको मैदान छिट्टै बन्ने बताए । तेक्वान्दो खेलाडी दीपक विष्टले राष्ट्रका नायकहरूले ट्रफी जितेर देशलाई गौरवान्वित पारेको बताए । राखेप सदस्य सचिव युवराज लामाले मूलपानीमा ३० हजार क्षमता रहेको रंगशाला बनाउनुपर्ने जानकारी दिए । सिंहदरबारमा तीन बजे मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, मुख्यसचिव लीलामणि पौडेलले सम्मान गरेका थिए । अध्यक्ष रेग्मीले क्रिकेटमा अहिलेसम्मकै ठूलो सफलता मिलेको बताउँदै टिमका हरेक सदस्यलाई ३ लाख ५० हजार रुपैयाँ दिने घोषणा गरे । उनले क्रिकेट व्यावसायिक हुनुपर्ने बताए । उनले भने, राखेप र क्यानले आवश्यक योजना बनाएर सरकारलाई पेस गर्नु पर्छ । त्यसलाई सरकारले सहयोग गर्नेछ ।

नेकपा(माओवादीसहित ३३ दलले मागे राष्ट्रपतिको राजीनामा


 नेकपा(माओवादीसहितका ३३ दलले राष्ट्रपति डा. रामवरण यादवको राजीनामा मागेका छन् । लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाएको विरोधमा राष्ट्रपति कार्यालय घेराउ गरेका ३३ दलले राष्ट्रपति संविधानको भक्षक भएको आरोप लगाएका छन् । ‘यो देशमा राष्ट्रपतिले राष्ट्रियताको रक्षा गर्न सकेनन् । संविधानको रक्षा गर्न सकेनन’ धर्नापछि कोणसभालाई सम्बोधन गर्दै माओवादी उपाध्यष सीपी गजुरेलले भन्नुभयो’यस्तो राष्ट्रपतिको काम छैन । राजीनामा दिनुपर्छ ।’ उहाँले अघिल्लो दिनसम्म सर्वोच्च र कानुनी सल्लाहकारसँग छलफल गर्छु भन्ने राष्ट्रपतिले रातारात कसको फोनको भरमा लोकमानलाई नियुक्त गरे भनि प्रश्न समेत गर्नुभयो ।
लोकमानलाई हटाउन माग गर्दै २९ र ३० गते बन्द आयोजना गरिएको भन्दै उहाँले माग सम्बोधन नभए थप आन्दोलन घोषणा गर्ने चेतावनी दिनुभयो । नेकपा(माओवादीसहितका ३३ दलले शीतल निवास अगाडी धर्ना दिइरहँदा राष्ट्रपति भने बाहिरिनु भएको थियो ।

कार्कीको छलाङ



राजाको प्रत्यक्ष शासनकालमा मुख्य सचिव रहेका कार्कीले करिब छ वर्षदेखि रिक्त अख्तियार प्रमुखको जिम्मेवारी लिए।

राजपरिषद स्थायी समितिका तत्कालीन सभापति भूपालमानसिंह कार्कीका छोरा लोकमान ०४१ साउनमा तत्कालीन राजा वीरेन्द्रको हुकुमप्रमांगीबाट राजसभा उपसचिवमा प्रवेश गरेका थिए। तत्कालीन अर्थ राज्यमन्त्री महेश आचार्यको पालामा उनलाई ०४९ सालमा निजामती प्रशासनको राजस्व समूहको उपसचिवमा लगिएको थियो। लगत्तै उनले बेलायतमा दुई वर्षे छात्रवृत्तिमा पढ्ने अवसर पाए।
तत्कालीन अर्थसचिव ठाकुरनाथ पन्तको पालामा कार्यसम्पादन मूल्यांकनमा टिपेक्स लगाएर सहसचिवमा बढुवा भएको कार्कीविरुद्धको मुद्दामा सर्वोच्च अदालतले समेत कार्यसम्पादन मूल्यांकनमा टिपेक्स लगाउन नपाइने आदेश जारी गरेको थियो। सहसचिव बनेलगत्तै कार्की भन्सार विभागका महानिर्देशक बने। त्यसपछि उनले राजस्व अनुसन्धान विभागलगायत निकायमा काम गरे। ०५१ सालमा कार्की भन्सारका महानिर्देशक भएकै बेला चर्चित सुनकाण्डमा उनको नाम मुछिएको थियो।
सहसचिव बनेको पाँच वर्षमै ०५८ वैशाख ६ मा कार्की सचिव बने। उनी जलस्रोत सचिव हुँदा तत्कालीन जलस्रोतमन्त्री बलदेव मजगैयाँसँग विवाद चुलियो। मन्त्री मजगैयाँले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई कार्की फिर्ता गरी नयाँ सचिव पठाउन आग्रह गरे। नभएपछि आफैँले राजीनामा दिए। कार्कीले जलस्रोतसहित स्वास्थ्य, सूचना तथा सञ्चार मन्त्रालयमा सचिवको रुपमा काम गरे। ज्ञानेन्द्रले शासन हातमा लिएर ०६१ मा १५ जना वरिष्ठ दाबेदारलाई पन्छाउँदै उनलाई मुख्य सचिव बनाएका थिए। जनआन्दोलन–२ दबाउन सत्ता र शक्तिको दुरुपयोग गरेको आरोप उनीमाथि लाग्दै आएको छ।

छ वर्षपछि तीन निकायमा प्रमुख


राष्ट्रपति रामवरण यादवले तीन संवैधानिक निकाय प्रमुख नियुक्त गरेका छन्। संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति यादवले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पूर्व मुख्यसचिव लोकमानसिंह कार्की, लोकसेवा आयोग अध्यक्षमा कयोदेवी यमी र महालेखापरीक्षकमा भानु आचार्यलाई नियुक्त गरेका हुन्। तीनैजनालाई कामु प्रधान न्यायाधीश दामोदरप्रसाद शर्माले बुधबार बिहानै शीतल निवासमा शपथ गराए। अख्तियारमा लोकमान, लोकसेवामा यमी, महालेखामा आचार्य
तीन वर्षअघि नै अख्तियार आयुक्तमा नियुक्ति पाएका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक केशब बरालले पनि बुधबार नवनियुक्त प्रमुख कार्कीबाट शपथ लिए। अख्तियार प्रमुख नहुँदा उनले शपथ तथा पदभार ग्रहण गर्न पाएका थिएनन्। शपथ ग्रहण समारोहमा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी, मन्त्रीहरू, सरकारी उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि उपस्थिति थिए। नियुक्तिसँगै छ वर्षपछि सबै संवैधानिक निकायले नेतृत्व पाएका छन्।
चैत ३ गते चार राजनीतिक दल सम्मिलित उच्चस्तरीय राजनीतिक समितिको बैठकले कार्कीलाई अख्तियार, यमीलाई लोकसेवा, आचार्यलाई महालेखा र नीलकण्ठ उप्रेतीलाई निर्वाचन आयोग प्रमुखमा नियुक्तिका लागि सिफारिस गरेको थियो। कार्कीको सिफारिसबारे अदालतमा रिट परेपछि त्यतिबेला निर्वाचन आयोग प्रमुख मात्र नियुक्त गरिएको थियो।
संवैधानिक परिषद बैठकले आइतबार अन्य तीनको नाम नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। तीनैजनाले बुधबारै पदभार सम्हालेका छन्।